Published on January 1, 2025
काठमाडौं । नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनले नेशनल माउण्टेन गाइड डे मनाएको छ । गत शनिबार काठमाडौंस्थित सिद्धार्थ बुटिक होटलमा १९औँ नेशनल माउण्टेन गाइड डे भव्यताका साथ मनाएको हो ।
सो अवसरमा पर्यटन विभागका महानिर्देशक डा.नारायण प्रसाद रेग्मीले पर्वतारोहण क्षेत्रमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताए । निजी क्षेत्रसँग पर्यटन विभाग र पर्यटन मन्त्रालयले मिलेर काम गर्ने उनले बताए । उनले भने, ‘नयाँ बनिरहेको पर्यटन ऐन पर्यटनमैत्री हुने छ । पर्वतारोहण क्षेत्रसँग सम्बन्धित काम विभागले गरिरहेको छ । साथै, निषेधित क्षेत्र खुल्ला गर्ने तर्फ पनि सम्बन्धित मन्त्रालयहरुसँग पहल भइरहेको छ । आरोही कल्याणकारी कोषको लागि पनि पहल भइरहेको छ ।’
कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले संघ र एकेडेमी दुबैको उद्देश्य भनेको देशमै दक्ष जनशक्ति उत्पादन गर्नु रहेको बताए । अध्यक्ष शेर्पाले मन्त्रालयसँग गाइडहरुका लागि चाहिने तालिमहरुको लागि बजेट छुटाउन पहल गरिदिन विभागका महानिर्देशकलाई अनुरोध गरे । नेपालमा नेशनल गाइड मात्र नभएर अन्तर्राष्ट्रिय माउण्टेन गाइड उत्पादन गर्ने सरकारले कदम चाल्नुपर्नेमा उनको जोड थियो । साथै, उनले पर्यटन क्षेत्रलाई विकास गर्न सरकारको साथमा निजी क्षेत्र तयार रहेको बताए ।
नेपाल माउन्टेन एकेडेमीका क्याम्पस प्रमुख शिव प्रसाद जैशीले एकेडेमीले नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनसँग लामो समयदेखि सहकार्य गरी हाइ अल्टिच्युटलगायतको कार्य गर्दै आएको बताए । हालै मास्टर पढ्ने १५ जना विद्यार्थीहरुले नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनको सहकार्यमा लोबुचे पिकको सफल आरोहण गरेको उनले सुनाए । नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनले एकेडेमीलाई सहयोग गर्दै आएको बताउर्दै उनले भने, ‘हामी सबैको उद्देश्य एउटै भएकाले सयुक्त रुपमा अगाडी बढ्नुपर्छ ।’ साथै, उनले माउन्टेन गाइड प्रोडक्शनमा काम भइराखेको र माउन्टेन गाइडद्वारा ब्याचलरको बिएमएस र एमटिएसहरुमा माउन्टेन गाइडले माथि हायर रिसोर्टमा गएर ट्रेनिङहरु दिइराखेको सुनाए ।
नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनका अध्यक्ष तुल सिंह गुरुङले हिजोको दिनमा भएको नेपाल पर्वतारोहण संघ र नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनबीच रहेको भनिएको द्वन्द्व नरहेको बताए । उनले पर्यटन क्षेत्रका सबैलाई एक किसिमको वर्गीकृत गर्नुपर्छ भन्नेमा सरकारलाई पटक पटक सुझावहरु दिइराखेको बताए । उनका अनुसार त्यो सुझावको सुनाइ नभएपछि मात्र मुद्दामामला पनि झेल्नु परेको हो । सर्वोच्च अदालतमा विचारीधित रहेको मुद्दा आफूहरु फिर्ता लिन सक्ने समेत बताउँदै उनले भने, ‘राज्यले माउण्टेन गाइडलाई, माउण्टेन गाइड जस्तै एक्सपिडिशन गाइड, क्लाम्बिङ गाइड, ट्रेकिङ गाइड आदि सबैलाई वर्गीकृत गरिदिएको खण्डमा हामी मुद्दा फिता लिन तयार छौं ।’
कार्यक्रममा विशेष सम्मान आङ्ग नुर्बु शेर्पा (एनएनएमजीए पूर्व अध्यक्ष), पहिलो आरोहण टोलीः(क)माउन्ट पत्रासी टोली, विनायक जय मल्ल, पासाङ्ग कामी शेर्पा (आकांक्षी गाइड), पासाङ्ग रिन्जी शेर्पा (आकांक्षी गाइड), (ख) माउन्ट बेडिङ्ग गोःपासाङ्ग किडार शेर्पा, (ग) माउन्ट गान्छेम्पोः पेम्बा रिता शेर्पा, १४ पिकहरु आरोहण गरेका मिङ्मा ग्याल्जे शेर्पा (मिङ्मा जी), दावा याङ्जुम शेर्पा, दावा ग्याल्जे शेर्पा, खोज तथा उद्धार कार्यः पेम्बा गेल्जे शेर्पा, प्रकाश शेर्पा, छिरिङ्ग शेर्पा (आकांक्षी गाइड), कुङ्साङ्ग शेर्पा (आकांक्षी गाइड), पाठ्यक्रम प्रशिक्षक सम्मानः (क) आकांक्षी गाइड पाठ्यक्रम–२०२३/२४, प्रवेश परीक्षा, कम्प–१ देखि कम्प–३ः पिम्बा तेन्जिङ लामा, पासाङ्ग काजी शेर्पा, तेन्जी शेर्पा (वरिष्ठ), पासाङ्ग तेन्डी शेर्पा (जुनियर), खिमलाल गौतम, तेन्डी शेर्पा (जुनियर), अनुप गुरुङ्ग, कृष्ण भक्त मानन्धर, पेम्बा ओङ्छु शेर्पा, छिरिङ्ग सोनाम लामा, राकेश गुरुङ्ग, अबिरल राई, लाम बाबु शेर्पा, ल्हाक्पा नुर्बु शेर्पा, लोब्साङ्ग शेर्पा, दावा फिन्जो लामा भोटे, डा.सुमन आचार्य, आशिष गुरुङ्ग, अनिश दाहाल, दोरचि शेर्पा, नरेन्द्र शाही, पेम्बा रिता शेर्पा, रिटेन जाङ्बु शेर्पा, आङ्ग नुर्बु शेर्पा, (ख) इन्टरमिडिएट माउन्टेनियरिङ्ग कोर्स (चीन): नरेन्द्र शाही, पेम्बा रिता शेर्पा, रिटेन जाङ्बु शेर्पा, विनायक जय मल्ल, लाम बाबु शेर्पा, अबिरल राईलाई प्रमाणपत्र वितरण गरिएको थियो ।